Listen Live

रहरैरहरमा रमाएकी रमिला

रहरैरहरमा रमाएकी रमिला

याँ पत्रिका काठमाडाैँ | ०३ मिनेट अगाडि

विगत खोतल्दा गायिका रमिला न्यौपानेको पनि संघर्षका पाना पल्टिए । झन्डै १२ वर्षअघिको संघर्ष । जतिवेला उनी गायन क्षेत्रमा आफ्नो पाइला राख्ने ठाउँको खोजीमा थिइन् । आजभोलि उनी मेला, महोत्सवमा व्यस्त भएको वेला एकै महिनामा १५ लाख रुपैयाँसम्म कमाउँछिन् । एकै महिनामा लाखौँ कमाउँदा खुसी त हुन्छिन्, तर त्यति धेरै खुसी हुन सक्दिनन्, जति खुसी उनी पहिलो गीत गाएबापत पाएको पाँच हजार रुपैयाँमा भएकी थिइन् ।

१२ वर्षअघि उनी सिन्धुपाल्चोकको बाँडेगाउँ– ३ बाट काठमाडौं आएकी हुन् । क्याम्पस पढ्न भनेर उनी आएकी । छोरीले सहरमा पढोस् र सरकारी जागिरमा लागोस् भन्ने अरूको जस्तै रमिलाको परिवारको चाहना थियो ।

अहिले लोक तथा दोहोरी क्षेत्रकी चर्चाकी गायिका रमिला त्यो क्षण सम्झिँदै भन्छिन्, ‘बुवाममीले क्याम्पसमा लाग्ने शुल्क र कोठाभाडा मात्रै पठाउनुहुन्थ्यो । मलाई भने संगीत पनि सिक्नु थियो । संगीतको पनि क्लास जान थालेपछि खर्च धान्नै गाह्रो भयो ।’

अर्की गायिका देविका केसी त्यसवेला रमिलाको रुमपार्टनर थिइन् । सिन्धुपाल्चोकमा घर पनि सँगसँगै । दुवै सांगीतिक क्षेत्रमा केही गराैँ भनेर काठमाडौंमा संगीत सिक्न धाइरहन्थे । ‘गाडीभाडा नभएर कुनै दिन मीनभवनदेखि बागबजार, पिके क्याम्पससम्म हिँडेरै आइयो,’ विगत सम्झिन्छिन् रमिला, ‘म्युजिक क्लासमा फी तिर्न नसकेको क्षण पनि थियो । पहिलो गीत गाउँदा देविका र मैले ५–५ हजार रुपैयाँ पायौँ । त्यसवेला खुसीले उफ्रिएका थियौँ ।’

‘मेला–महोत्सवबाट त राम्रै पैसा कमाउनुहुन्छ है ? कति हुन्छ महिनामा ?’ भन्ने प्रश्नमा रमिला मुस्कुराइन् । र, भनिन्, ‘तिजको सिजनको वेला महिनामा १२ देखि १५ लाखसम्म कमाइन्छ । हुँदै नभएको महिना ४ देखि ५ लाख हुन्छ ।’ सांगीतिक क्षेत्रमा लगानी गर्नु मात्र हो, आम्दानी छैन भन्दै सांगीतिक क्षेत्रबाट भाग्नेहरू पनि थुप्रै छन् । रमिलाको यो कुरा सुन्दा गफ लगाएजस्तो लाग्न सक्छ । तर, यथार्थ यही हो । राम्रो कला र क्षमता हुने मान्छेलाई बरदान हो सांगीतिक क्षेत्र । अहिले पनि र जहिले पनि ।

अहिलेसम्म रमिलाको स्वरमा डेढ सयजति गीत स्वरबद्ध छन् । अझ बढी उनका तिजका गीत चर्चित छन् । तिजको वेला व्यस्त हुने गायिकामध्येकी एक हुन् उनी ।

अहिलेसम्म रमिलाको स्वरमा डेढ सयजति गीत स्वरबद्ध छन् । अझ बढी उनका तिजका गीत चर्चित छन् । तिजको वेला व्यस्त हुने गायिकामध्येकी एक हुन् रमिला । ‘आज त भेट्न आउँदिनँ है कालु’ यो तिजको गीतले उनलाई चर्चामा ल्यायो । यस्तै, चर्चित उनका गीत अरू पनि छन् । तिजको मात्र नभई उनले गाएका ‘झमझम दर्कियो पानी’, ‘पंखा चलाइदेऊ’लगायत दर्जनभन्दा बढी गीत चर्चित छन् ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको ३ नम्बर प्रदेशको संयोजकसमेत रहेकी रमिला भविष्यमा यही क्षेत्रमा निरन्तर आफ्नो उपस्थिति चाहन्छिन् । भन्छिन्, ‘अब जानेकै कुरा यही हो । अरू क्षेत्रमा जागिर खाऊँ भन्ने सोख छैन । सांगीतिक क्षेत्रमै निरन्तर लाग्ने हो ।’

शब्द सिर्जनासमेत गर्ने उनले बढी गीत खुमन अधिकारीसँग गाएकी छिन् । पशुपति शर्मालगायतसँग गाएका गीत पनि उनका चर्चित छन् । सांगीतिक यात्राकै क्रममा उनी युके, अस्ट्रेलिया, जापान, रसिया, दुबई, कतार, बहराइन, मलेसियालगायतका देश पुगिसकिन् । देशभित्रकै मेला–महोत्सवमा त उनी कुदिरहेकै हुन्छिन् । प्रायः उनका गीतका म्युजिक भिडियो बनेकै छन् । अझ उनले गाएका तिजका सबै गीतको म्युजिक भिडियो छ ।

‘अनि गीत र म्युजिक भिडियोमा लगानी नि ?’ उनी भन्छिन्, ‘मेरो आफ्नै एल्बमका लागि सम्पूर्ण लगानी मेरै हो । अरूको एल्बममा गाउँदा त्यसमा लगानी अरूले नै गर्ने हो ।’ उसो त गायिका रमिला न्यौपानेले म्युजिक भिडियोमा पनि अभिनय गरेकी छन् । भन्छिन्, ‘आफू क्षमतावान भएर सबैसँग चिनजान गर्न सके यो क्षेत्रमा भविष्य राम्रो छ ।’

‘तपाईंको गीतसंगीत जति चर्चित छ, तपाईं आफैँचाहिँ त्यति धेरै चर्चित नहुनुभएको हो ?’ उनी स्विकार्छिन् मेरो यो जिज्ञासा । भन्छिन्, ‘अहिलेको डिजिटल प्रविधिमा आफूलाई अपडेट गरिएन र मिडियाले साथ दिएन भने जति नै राम्रो क्षमता र कला भए पनि मानिस केही समय छायामा पर्दोरहेछ । तर, राम्रो गर्ने मान्छेलाई सबैले खोजी गर्दारहेछन् ।’

गायिका रमिलाले भनेझैँ सबैको प्रिय कुरा लुक्नै खोजे पनि कुनै न कुनै क्षण बाहिर आउँछ नै । जसरी रमिलाको एक दशकको मिहिनेतको प्रतिफलस्वरूप उनी सफल भइरहेकी छिन् । निरन्तर संगीतकर्ममै रहने बताउने रमिलाबाट आगामी दिनमा नेपाली संगीतले अझै राम्रा गीतसंगीत पाइरहला, आशा गरौँ ।

सूचना

  • Notice test
  • रेडियो कर्णाली आफ्नो www.radiokarnali.org मार्फत शंसार भर एकै साथ सुन्न सक्नु हुन्छ । तपाईको रचनानात्मक सुझाव सल्लाहले रेडियो कर्णालीको को आफ्नो उत्पादन तथा प्रसारणमा गुणस्तरियता कायम गर्न मद्यत पुग्ने छ । सल्लाह र सुझावको लागि रेडियो कर्णालीको ईमेल आईडी rkfm105.2@gm..

    read more

Program Archive

Get Connected

© 2018 Radio Karnali FM 105.2 MHz, All Rights Reserved Site by: SoftNEP