Listen Live

मकालु एयरको जहाज दुर्घटना, दुवै पाइलटको मृत्यु

मकालु एयरको जहाज दुर्घटना, दुवै पाइलटको मृत्यु
 कर्णाली । मकालु एयरको सिंगल इन्जिनयुक्त जहाज बुधबार बिहान हुम्लाको खार्पुनाथ गाउँपालिकाको बाहुनखर्कमा दुर्घटना भएको छ । जहाजका क्याप्टेन किरण भट्टराई र को–पाइलट आदित्य नेपालीको मृत्यु भएको छ । शव बोकेको हेलिकोप्टर घटनास्थलबाट उडिसकेको कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी सुरेश शाहले जानकारी दिनुभयो । ९एन एजेयु कलसाइनको जहाज बिहान ६ः१२ बजे सुर्खेतबाट कार्गो सामान लिएर हुम्लाको सिमकोटका लागि उडेको थियो । दुर्घटनास्थल सिमकोट देखि १०.७ नटिकल माइल दक्षिण–पश्चिम राया र थालीको बीचमा पर्छ । डिआइजी शाहले जहाज तीन टुक्रा भएको अवस्थामा भेटिएको बताउनु भयो । जहाज हराएको सूचना पाउने बित्तिकै नेपाल प्रहरी र नेपाली सेनाको टोली खोजमा खटेको थियो । बाजुरा, मुगु र हुम्ला प्रहरीले आ–आफ्नो क्षेत्रमा खोजी गरेका थियो ।
तर, स्थानीयले जहाज देखेको सूचना दिएपछि सिमकोटबाट नेपाल प्रहरीका असई, नागरिक उड्डयन प्राधिकरणका एकजना कर्मचारी र दुईजना मेडिकल सदस्य रहेको टोली त्यहाँ पुगेको थियो । टोलीले शव निकाल्न नसकेपछि सिमकोटबाट हेलिकोप्टरमा थप जनशक्ति लिएर हेलिकोप्तर त्यसतर्फ गएको थियो । घटनास्थल समुद्री सतहदेखि १२,८०० फिट उचाईमा अवस्थित छ । यसअघि त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीले बाजुरा तर्फ कर्णाली नदीको तीरमा जहाजले फोर्स ल्यान्डिङ गरेको अपुष्ट खबर विमानस्थलको उद्दार समन्वय केन्द्र (आरसीसी) मा आएको बताउनु भएको थियो । क्षत्रीको अपुष्ट सूचनापछि बाजुराका प्रमुख जिल्ला अधिकारी कान्तिपुर संवाददातालाई चेतराज बरालले हुम्लाको अदानचुली ५ हिला चौर आसपासमा दुर्घटना भएको हुनसक्ने जानकारी गराएका थिए ।
यो एयरलाईन्स क्याप्टेन फिजु नेपालीको हो । यसअघि सिता एयर बेचेर फिजुले मकालु एयरलाइन्स किनेका थिए । यो कार्गो जहाज हो । सुर्खेत हब भएको यो एयरलाइन्सले मध्य र सुदुरपश्चिमका हिमाली जिल्लामा चार्टर सेवा दिँदै आएको छ । यसैगरि, मकालु एयरको सिंगल इन्जिनयुक्त जहाज दुर्घटनामा मृत्यु भएका चालक दलका सदस्यको शव काठमाडौं ल्याइ र्पुयाएको छ । सिम्रिक एयरको हेलिकोप्टर शव लिएर करिब एक बजे काठमाडौंको उडेको थियो । सिम्रिक एयरका सुर्खेत प्रतिनिधि कमल गौतमका अनुसार हेलिकोप्टरमा सहचालक आदित्य नेपालीका बुवा एवं एयरलाइन्सका मालिक फिजुनाथ नेपाली पनि सँगै गएका छन्। दिउँसो पौने ३ बजे हेलिकोप्टर शिक्षण अस्पताल महाराजगंजमा अवतरण हुने गौतमले बताउनु भयो । घटनास्थलबाट माउन्टेन एयरको हेलिकोप्टरले शव सुर्खेत ल्याएको थियो ।

सूचना

  • Notice test
  • रेडियो कर्णाली आफ्नो www.radiokarnali.org मार्फत शंसार भर एकै साथ सुन्न सक्नु हुन्छ । तपाईको रचनानात्मक सुझाव सल्लाहले रेडियो कर्णालीको को आफ्नो उत्पादन तथा प्रसारणमा गुणस्तरियता कायम गर्न मद्यत पुग्ने छ । सल्लाह र सुझावको लागि रेडियो कर्णालीको ईमेल आईडी rkfm105.2@gm..

    read more

Program Archive

Get Connected

© 2018 Radio Karnali FM 105.2 MHz, All Rights Reserved Site by: SoftNEP