Listen Live

छोरा जन्माउनका लागि छवटी श्रीमती विवाह गरेँ’

‘छोरा जन्माउनका लागि छवटी श्रीमती विवाह गरेँ’

रासस रोल्पा, २९ चैत | ०६ घन्टा अगाडि

‘बाँचुञ्जेल पाल्न र मरेपछि चितासम्म पुर्याउन छोरा नै चाहिन्छ त्यसैले छोरा जन्माउनका लागि छवटी श्रीमती विवाह गरेँ’, ठूलोगाउँ थबाङ रोल्पाका ५९ वर्षीय हित पुनले गर्वका साथ सुनाए । हाल पुन सदरमुकाम लिबाङ नजिक बस्दै आएका छन् । ज्याला मजदूरी गरेर जीविका चलाउँदै आएका पुनले एकपछि अर्को गर्दै छवटी श्रीमती भित्र्याएको बताए ।

पुनको पहिलो विवाह आफू १६ वर्ष हुँदा १४ वर्षीया किशोरीसँग भएको थियो । उनीबाट दुई छोरी छन् । यस्तै १७ वर्षीया किशोरीलाई उनले ३० वर्षको उमेरमा दोस्रो श्रीमतीका रुपमा भित्र्याए । उनीबाट सन्तान भएनन् । त्यसपछि उनले एकपछि अर्को गर्दै केही वर्षको फरकमा २०/२२ वर्षको उमेरका किशोरीलाई भित्र्याउने क्रम जारी रह्यो । हाल उनकी श्रीमती करीब २२ वर्षकी छिन् । यसअघि भने उनले पाँचौँ श्रीमतीका रुपमा ५६ वर्षको उमेरमा ५४ वर्षीया एकल महिलासँग प्रेम विवाह गरेका थिए । उनबाट पनि छोरा नभएपछि करीब एक वर्ष पहिले २१ वर्षीया युवतीलाई श्रीमतीका रुपमा भित्र्याएको उनको भनाइ छ ।

यसरी छैटौँ श्रीमतीबाट उनको छोरा जन्माउने धोको पूरा भएको छ तर सुखी जीवन जीउने सपना भने साकार हुन सकेको छैन । उनकी कान्छी श्रीमती चौबिसै घण्टा मदिरा सेवन गरी बेहोस हुने गरेपछि उनलाई मानसिक तनाव बढ्दै आएको छ, जसका कारण उनले शारीरिक तथा मानसिक रुपमा श्रीमतीलाई यातना दिँदै आएका छन् । करीब चार महिनाको बच्चा धुरुधुरु रोइरहँदा पनि बच्चा सम्हाल्न नसक्ने गरी मदिरा सेवन गर्नुले यो परिवारलाई विक्षिप्त बनाएको छ ।

‘दुई श्रीमतीको पोई, कुनाबसी रोई’ भने झैँ श्रीमतीले घर भरिँदा उनलाई शारीरिक तथा मानसिक रुपमा पीडा थपिँदै गए पनि यसको कुनै असर नभएको उनले बताए । यसरी एकमाथि अर्को सौता हाल्दै गएपछि केहीवर्ष पहिले उनकी जेठी श्रीमतीले बहुविवाहको मुद्दा चलाइन्। जसका कारण उनले साढे एक वर्षको जेल जीवनसमेत बिताइसकेका छन् । तर जेलबाट निस्किएर पुनः विवाह गरेको बताउने पुनले विवाह गर्नु र छोड्नुलाई सामान्य रुपमा लिएको बुझिन्छ ।

आफू ज्याला मजदूरी गरेर घर फर्कने बेला मदिरा सेवन गरेर श्रीमती एकतिर लड्नु र चार महिनाको बच्चा अर्कोतिर रोइरहनुले वरपरका छिमेकीलाई समेत हैरानी हुने गरेको छिमेकीले बताएका छन् । यसरी विवाह गरेका अन्य श्रीमतीले छोडे पनि उनका तीनवटी श्रीमती भने उनकै संरक्षणमा फरक फरक स्थानमा बस्दै आएका छन् ।

पितृसत्तात्मक सोच र चिन्तनमा जेलिएको हाम्रो समाज अझै पनि छोरीभन्दा छोरालाई प्राथमिकता दिँदै आएको छ । अर्कोतिर घरमा सौता भएको थाहा पाउँदापाउँदै एकपछि अर्को महिला सौताका रुपमा घरमा भित्रिनुले पनि महिलालाई कमजोर बनाउँदै लगेको अधिकारकर्मीहरुले बताएका छन् ।

महिला विकास अधिकृत लोकेन्द्रा आचार्यका अनुसार महिलाले छोरा वा छोरी जन्माउनुमा उसको कुनै दोष हुँदैन । यसमा दुवैको समान जिम्मेवारी रहन्छ । महिलाकै कारणबाट छोरा नभएको सम्झनु राम्रो होइन । साथै यसरी मनपरी विवाह गर्नु र छोड्नुले श्रीमान् श्रीमतीलाई मात्र नभएर उनका छोराछोरीलाई समेत नकारात्मक असर पारेको हुन्छ भने जसका कारण निर्दोष बालबालिकाको बिचल्ली हुँदै गएको छ ।

अर्को कुरा घरमा श्रीमती भएको देख्दादेख्दै बाबुको उमेरको पुरुषलाई श्रीमानका रुपमा स्वीकार्नु महिलाको मूर्खता हो । महिलाका पक्षमा कानून बनिरहँदा तथा कार्यान्वयन भइरहँदा यसरी महिला अधिकारको दुरुपयोग गर्नु वा आफ्नो कर्तव्य बोध नगर्नुले समाजलाई अमर्यादित तथा दूषित बनाउन सक्छ । त्यसैले कानून विपरीत कार्य गर्ने महिला होस् वा पुरुष दुवै सजायको भागेदार हुनुपर्छ । अञ्जानमा सौतामाथि पर्नु दुःखद पक्ष भए पनि जानाजान सौतामाथि, त्यो पनि पाँचौँ छैटौँ श्रीमतीका रुपमा भित्रिनु बिलकुलै राम्रो होइन, उनले भने ।

सूचना

  • Notice test
  • रेडियो कर्णाली आफ्नो www.radiokarnali.org मार्फत शंसार भर एकै साथ सुन्न सक्नु हुन्छ । तपाईको रचनानात्मक सुझाव सल्लाहले रेडियो कर्णालीको को आफ्नो उत्पादन तथा प्रसारणमा गुणस्तरियता कायम गर्न मद्यत पुग्ने छ । सल्लाह र सुझावको लागि रेडियो कर्णालीको ईमेल आईडी rkfm105.2@gm..

    read more

Program Archive

Get Connected

© 2018 Radio Karnali FM 105.2 MHz, All Rights Reserved Site by: SoftNEP